देश

राप्रपाका मिश्र र राणा बेपत्ता, निजी सचिव र वकिललाई जरिवाना

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा बेपत्ता भएपछि उनीहरूका स्वकीय सचिव र कानुनी प्रतिनिधि (वकिल) फन्दामा परेका छन्। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त मानिएका मिश्र र राणा प्रहरीले सम्पर्कमा नआएपछि, सर्वोच्च अदालतको आदेशअनुसार जिम्मा लिएका सचिव र वकिललाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

स्वास्थ्य उपचारका लागि मिश्रभन्दा पहिले राणा रिहा भएका थिए। सर्वोच्चको आदेशअनुसार मिश्रलाई उनका स्वकीय सचिवले र राणालाई उनका वकिलले जिम्मा लिएका थिए।

जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि सुरु भएको थुनछेक बहसमा दुवै जना उपस्थित नभएको प्रहरीले जनाएको छ। सो घटनासम्बन्धी मुद्दामा १०८ जनालाई प्रतिवादी बनाइएको छ, जसमध्ये ३९ जना अहिले हिरासतमा छन्।

क्यान्सरको उपचारका लागि भारत गएका राणा फर्किए पनि पछि पुनः बेपत्ता भएका थिए। त्यसपछि मिश्र पनि सम्पर्कविहीन भएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *