देश

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण आवश्यक: महामन्त्री गगन थापा

पाटन (ललितपुर)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै चेतना र जागरण ल्याउन जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीतिक दलको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र बहिष्करण सँगसँगै जान नसक्ने बताए।

महामन्त्री थापाले भने, “अबको १० वर्षको अभियान के हुन सक्छ भनेर योजनाबद्धरूपमा लाग्नुपर्छ। आजको छलफल विचार उत्तेजक र ज्ञानवर्धक भयो।”उनले स्वर्गीय प्रदीप गिरीको भनाइ स्मरण गर्दै, “राजनीतिज्ञहरू बौद्धिक रूपमा सही ठाउँमा भए पनि कतिपय अवस्थामा भावनात्मक रूपमा ठीक ठाउँमा नहुन सक्छन्, त्यसमा ध्यान दिनुपर्छ,” भने।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेतृत्वले सत्तामा पुग्दा देखाएको व्यवहार र सोचकै कारण विभेद अन्त्य नहुँदाको आलोचना गरे। उनले समस्या समाधानतर्फ उन्मुख भएर काम गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेदविरुद्धको अभियानलाई अझ तीव्र बनाउनुपर्ने बताए।उनले भने, “नेपालमा मात्रै विभेद छ भन्ने कुरा सही होइन। उदाहरणका लागि, स्वीजरल्याण्डमा पनि महिलालाई मताधिकार दिन ढिलो गरियो। शिक्षा र चेतनाले यसमा ठुलो भूमिका खेल्दछ, केवल नियम र कानुनले मात्रै पुग्दैन।”

डा. महतले दलहरू नागरिकको घरघरमा पुग्ने प्रमुख संस्था भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन राजनीतिक दलहरूले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *