काठमाडौं । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को ऐतिहासिक आईपीएल जितले रंगशाला भित्र मात्र होइन, बाहिर समेत हजारौं समर्थकलाई उत्साहले रोमाञ्चित बनायो। तर यही उत्साह अचानक दुःखद दुर्घटनामा परिणत भयो जब चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा १० जनाको ज्यान गयो।
भारतीय सञ्चारमाध्यमका अनुसार, समर्थकको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। भिडभाडमा च्यापिएर र लडेर सयौं घाइते भएका छन्। घटनापछि कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत ूयो खुसीयाली दुर्भाग्यमा परिणत भएकोू भन्दै शोक व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “आरसीबीको ऐतिहासिक जित हाम्रो लागि गर्वको विषय हो, तर कुनै पनि खेलको सफलता मानवीय जीवनभन्दा ठूलो हुँदैन। सुरक्षालाई प्राथमिकता दिनु आवश्यक छ।” घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन प्रदेश सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ।
आरसीबीको पहिलो आईपीएल उपाधिका साथ समर्थकहरूमा देखिएको जोश स्वाभाविक थियो, तर त्यो जोश व्यवस्थापनको अभावले त्रासदीमा परिणत हुनु गम्भीर प्रश्न खडा गर्छ। आयोजक र प्रशासनले यस्तो ऐतिहासिक क्षणमा भिड व्यवस्थापन र सुरक्षाबारे पूर्वतयारी नगरेको आरोपसमेत लाग्न थालेको छ।
खेलको जितलाई राष्ट्रिय उत्सवजस्तो बनाउने काम राम्रो हो, तर त्यसले जनजीवनको सुरक्षामा आँच पुर्याउने हो भने त्यो उत्सव होइन, जिम्मेवारीको विफलता हुन्छ। यो घटना केवल आरसीबीका लागि मात्र होइन, सम्पूर्ण खेल समुदायका लागि चेतावनी हो—जसले जित मनाउने शैली र सुरक्षा संयन्त्रबारे पुनर्विचार गर्न बाध्य बनाउँछ।




