काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा अड्किएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले नै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद हृदयराम थानीले विधेयक लम्बिँदा महत्त्वपूर्ण मुद्दाहरू छायाँमा परेको भन्दै गुनासो पोखे।
थानीले अख्तियारको छानबिनको दायरामा नीतिगत निर्णयसमेत ल्याउने प्रस्तावले विधेयक अघि बढ्न नसकेको बताए। “ललित निवास, पतञ्जली, पोखरा र भैरहवा विमानस्थलजस्ता विषय अख्तियारको दायराभित्र नपरेर हो कि विधेयक रोकिएको? ” भन्दै उनले प्रश्न तेस्र्याए।
उनले समितिका सभापति रामहरि खतिवडालाई दोष नलिन आग्रह गर्दै भने, “क्याबिनेटले जे गरे पनि हुने, अरूले गरे अपराध हुने कानुन ठीक होइन।”
यो विधेयक २०७६ माघ ६ मा राष्ट्रिय सभामा दर्ता भएर २०७९ चैत २७ मा पारित भएको थियो। त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर २०८० भदौ ३१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो। उपसमितिको प्रतिवेदन २०८१ पुस ४ मा बुझिए पनि त्यसयता विधेयक अघि नबढेको हो। अब समितिमा यस विषयलाई फेरी प्राथमिकतामा ल्याउने दबाब बढ्दै गएको छ।




