देश

राजनीतिक संरक्षणमा कर्णाली विकास बैंकमा राजेन्द्रवीर रायको दुई अर्बभन्दा बढी घोटाला,अहिले हिरासतमा

काठमाडौं । राजनीतिक आडमा शक्ति, पद र संस्थाको दुरुपयोग गरी कर्णाली डेभलपमेन्ट बैंकबाट दुई अर्ब ६० करोड रूपैयाँभन्दा बढी अपचलन गरेको अभियोगमा पूर्वसीईओ राजेन्द्रवीर राय प्रहरी हिरासतमा छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बैंकिङ कसुरमा पक्राउ गरेर अनुसन्धान थालेको हो।

२०६० मा स्थापना भएको कर्णाली विकास बैंकको संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको पहिलो दिनदेखि नै रायको निर्णायक भूमिका थियो। सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार, रायले संस्थापकको हैसियतमा बैंकलाई आफ्नै निजी सम्पत्ति झैँ चलाए। दिनभर बैंकमा जम्मा भएको रकम साँझ घर लैजाने, नक्कली डिपोजिट देखाएर निकासा गर्ने, रकम आफ्नै साबुन–नुडल्स फ्याक्ट्री र जग्गा कारोबारमा लगानी गर्ने जस्ता कामहरू गरिएका थिए। बैंकमा लाखौं जनताको पसिनाको बचत थियो – जसमा किसान, मजदुर र पसले जस्ता आम नागरिकको कष्टले कमाएको पूँजी समावेश थियो।

२०७० सालदेखि अपचलन सुरु भएको देखिए पनि राष्ट्र बैंकले २०८१ सालको पुस १० गतेमात्र बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो। त्यसबेला राय फरार थिए। राष्ट्र बैंकको ढिलासुस्ती र नियमनको कमजोरीले करोडौंको अपचलन लुकाउन मद्दत गर्‍यो भन्ने आरोप उठेको छ।

रायले फरार भएपछि भारतको लखनउमा अभयचन्द्र गुप्ता नाममा राशन कार्ड बनाइ बसाइ सरेका थिए। उनी अस्पतालदेखि सरकारी सेवा लिने काममा समेत यही नाम प्रयोग गर्दै आएका थिए। यसबीचमा उनले आफ्नी पत्नीलाई पनि आफूसँगै राखेका थिए।नेपालमा सल्यानका ‘राई’ थर भएका रायले बाँकेमा ‘राय’ थरको नयाँ नागरिकता बनाएका थिए।

रायको राजनीतिक यात्राले उनको आपराधिक क्रियाकलापलाई झनै छायाँमा राख्यो। सुरुमा तमलोपा, त्यसपछि राप्रपा, एमाले, नागरिक उन्मुक्ति र अन्ततः माओवादीसम्म पुग्दा उनी पटक–पटक उम्मेदवार बने, प्रदेश इञ्चार्ज र सहमहामन्त्री जस्ता जिम्मेवारी पाए। तर हरेक पटक उनी आफ्नो राजनीतिक हितमा दल फेर्दै अगाडि बढे।

राजनीतिक विश्लेषक डा। जनार्दन शर्माका अनुसार, राजनीति केवल सत्ताको माध्यम बनेपछि त्यहाँ सिद्धान्त होइन, स्वार्थ हावी हुन्छ। राय जस्ता पात्रहरू त्यसकै उपज हुन्।

सीआईबीको अनुसन्धान अनुसार राय यो अपचलनमा एक्ला थिएनन्। उनीसँगै सातजनाभन्दा बढी व्यक्ति संलग्न छन्। उनीहरूले शेयर निष्कासनबाट उठाएको रकम बैंकमा दाखिला नगरी आफ्ना निजी खातामा हालेर प्रयोग गरेका थिए।

२०७० देखि २०८१ सम्म अपचलन चलिरहँदा राष्ट्र बैंकले कारबाही किन गरेनरु के सुपरिवेक्षण महाशाखाले रिपोर्ट लुकायोरु अब यो प्रकरण राष्ट्र बैंकको विश्वसनीयता र निगरानी क्षमतामाथि पनि गम्भीर प्रश्न बनेर उभिएको छ।

राजेन्द्रवीर रायको कथा केवल एक व्यक्तिको भ्रष्टाचार मात्र होइन, यो नेपाली बैंकिङ प्रणाली, राजनीतिक संस्कृति र नियमन संस्थाहरूको कमजोर संयोजनको खतरनाक उदाहरण हो। जब भ्रष्टाचारलाई राजनीतिक आड मिल्छ, तब कानुन केवल नाटकको पर्दा बन्न पुग्छ – जुन अहिले कर्णाली विकास बैंकको घटनाले प्रमाणित गरिदिएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *