काठमाडौँ । आईपीएलको फाइनल खेल आज हुदै छ । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज राति ७: ४५ बजेदेखि खेलिनेछ । यस पटक रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स फाइनलमा उपाधिका लागि भिड्दैछन् । दुवै टोलीले अहिलेसम्म कहिल्यै उपाधि जितेका छैनन् । यस्तो अवस्थामा, आरसीबी र पञ्जाब आफ्नो पहिलो उपाधिको खोजीमा हुनेछन् ।
आज हुने फाइनल खेल बर्षाले प्रभावित हुन सक्ने देखिएको छ । आइतबार पञ्जाब र मुम्बई इन्डियन्स बीचको क्वालिफायर-२ खेल पनि अहमदाबादमा खेलिएको थियो । यस खेलमा टस पछि वर्षा हुदा खेल दुई घण्टा १५ मिनेट ढिलो गरी सुरु भएको थियो । तर, अतिरिक्त समयका कारण ओभरहरू काटिएनन् र खेल पुरा २० ओभर खेलिएको थियो । मौसम विभागका अनुसार आज फाइनल खेलको दिन अहमदाबादमा पानी पर्ने सम्भावना छ ।
यसअघि २०२३ सिजनको फाइनल खेल पनि अहमदाबादमा खेलाइएको थियो, जुन वर्षाका कारण धेरै प्रभावित भएको थियो । यस पटक पनि फाइनलको लागि रिजर्भ डे राखिएको छ। त्यसैले, यदि आईपीएल २०२५ को फाइनल खेल आज बर्षाले हुन नसकेमा खेल बुधबार खेलाइने छ ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले प्लेअफ र फाइनल खेलको लागि कट अफ बढाएको थियो । बीसीसीआईले खेल पूरा गर्न १२० मिनेट अर्थात् दुई घण्टाको अतिरिक्त समय राखेको छ । यस अनुसार, यदि खेल राति ९:४५ बजे सुरु भयो भने, ओभरहरू काटिने छैनन् । पाँच ओभरको खेल सञ्चालनको लागि कट अफ समय राति १२: ११ बजे रहेको छ । यदि त्यतिन्जेलसम्म पनि खेल सञ्चालन भएन भने, खेल रिजर्भ डेको दिन अर्थात् बुधबार खेलाइनेछ ।
यदि भोलिपल्ट पनि वर्षाले बाधा पुर्यायो र खेल रिजर्भ डेमा भएन भने, दुबै टोलीले सुपर ओभर खेल्नेछन् र सुपर ओभरमा कुन टोली च्याम्पियन बन्ने भनेर निर्णय गरिनेछ । सुपर ओभर रातको १२:४५ बजेसम्म सुरु हुन सक्छ । यदि त्यतिन्जेलसम्म सुपर ओभर सञ्चालन भएन भने, अन्तिम खेल रद्द हुनेछ र पञ्जाब अंक तालिकाको शीर्ष स्थानमा रहेको आधारमा विजेता घोषित गरिनेछ ।




