देश

सिन्डिकेट फर्काउने सहमति जनतामाथिको अन्याय हो : पूर्वमन्त्री ज्वाला

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले यातायात व्यवसायीसँग गरेको पछिल्लो सहमतिप्रति आपत्ति जनाएका छन् । उनका अनुसार यो सहमति सिधै सिन्डिकेट फर्काउने प्रयास हो, जुन जनताको हितविपरीत छ।

पूर्वमन्त्री ज्वालाले मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोलेका थिए। उनले भने, “सरकारले व्यवसायीसँग सम्झौता गरेर पहिले हटाइएको सिन्डिकेटलाई पुनः जिउँदो बनायो। जनताले आफूले चाहेको सेवा प्रयोग गर्न पाउनुपर्छ, न कि केही व्यवसायीको दबाबमा बाध्य पारिनुपर्छ।”

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई मान्यता दिने नियम ल्याएपछि त्यसको विरोधमा यातायात व्यवसायीले देशभर चक्काजाम गरेका थिए। त्यसपछि सरकार र व्यवसायीबीच भएको वार्तामा नियमावली कार्यान्वयन स्थगन गर्ने सहमति भएको थियो।

ज्वालाले भने, “राइड सेयरिङ जस्तो आधुनिक सेवा जनताको रोजाइ हो। यस्तो सेवालाई रोक्ने सहमति गलत हो। सरकारको निर्णय के आधारमा भयो भन्ने प्रश्न उठ्छ।”

उनले मन्त्रालयलाई बेवास्ता गरेर गरिएको सहमतिलाई पनि आपत्तिजनक भने। “मुख्य रूपमा भौतिक पूर्वाधार मन्त्रालयको सरोकार भएको विषयमा अन्य मन्त्रालयले सहमति गर्नु ठीक होइन,” उनले भने, “यसरी सेवा जनतासम्म पुग्दैन।” ज्वालाको टिप्पणी अनुसार, आन्दोलन गर्ने व्यवसायीको माग मान्ने सरकार जनताको आवाज सुन्न तयार छैन। “अब जनताले आन्दोलन गरे के हुन्छर?” उनले प्रश्न गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *