देश

पूर्वमुख्यमन्त्री सोडारीमाथि एक करोड आठ लाख अकूत सम्पत्ति आर्जनको अदालतमा मुद्दा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीमाथि पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सोमबार दायर गरेको आरोपपत्रमा सोडारीले मुख्यमन्त्री पदमा रहँदा आफ्नो अधिकारको सीमाभन्दा बाहिर गएर सम्पत्ति आर्जन गरेको उल्लेख छ। २०७४ सालमा मुख्यमन्त्री हुँदा उनले आफ्नो र परिवारको सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा मात्र वैधानिक रूपमा देखाएका थिए। तर, अनुसन्धानका क्रममा उनले एक करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा बराबरको अकूत सम्पत्ति गैरकानुनी तरिकाले आर्जन गरेको पाइएको आयोगको दाबी छ।

आयोगका अनुसार सोडारीले श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दात बढाएको पाइयो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सोडारीको सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको हो।

विशेष अदालतमा पेश गरिएको मुद्दामा सोडारीमाथि सार्वजनिक पदको दुरुपयोग गरी अनुचित लाभ लिएको र पारिवारिक सम्पत्तिको नाममा राज्य स्रोतको दोहन गरेको आरोप लगाइएको छ। आयोगले यस्ता कार्यले सार्वजनिक सेवा र पदको विश्वसनीयता कमजोर पार्ने भन्दै कडा कानुनी कारबाहीको माग गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *