काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई पुनः थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।
विष्टले गत वैशाख १७ गते चौधरीलाई कैदमा राख्नू भन्दै डिल्लीबजार कारागार र प्रहरीलाई पत्राचार गरेका थिए। सोही पत्रको आधारमा चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए। तर, विष्टको पत्रलाई सर्वोच्च अदालत प्रशासनले अनधिकृत ठहर गर्दै सच्याएपछि चौधरी रिहा भएका थिए। त्यसपछि पत्राचारको विषयमा आफैँ विवादमा तानिएर विष्ट पक्राउ परेका थिए।
विष्टविरुद्ध लिखत किर्ते अभियोगमा काठमाडौं जिल्ला प्रहरी परिसरले मुद्दा दायर गरेपछि जिल्ला अदालतले जेठ ५ गते एक लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो।
तर, उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै रेशम चौधरीले विष्टलाई पुनः थुनामा राख्न मागसहित उच्च अदालतमा निवेदन दिएका हुन्। निवेदन हाल दर्ता प्रक्रियामा रहेको चौधरीका कानुनी प्रतिनिधि अधिवक्ता टेकबहादुर कुँवरले जानकारी दिए। सर्वोच्च अदालत प्रशासनले विष्टलाई हालसम्म निलम्बन गरिसकेको छ। अब उच्च अदालतको निर्णयमा विष्टको भविष्यको कानुनी हैसियत प्रभावित हुन सक्ने देखिन्छ।




