काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक फेरबदलको क्रममा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सहित छ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्णयमा शुक्रबार भएको यो सरुवाबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन्।
कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजालका अनुसार, कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ भने बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई कास्की पठाइएको छ। त्यस्तै, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको सिडिओ बनाइएको छ। धनुषाका सिडिओ रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ भने शंकरहरि शर्मालाई धनुषाको सिडिओको जिम्मेवारी दिइएको छ। यस्तै, पाँचथरमा नयाँ सिडिओका रूपमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ।
गृह मन्त्रालयले नियमित प्रशासनिक पुनर्संरचनाको प्रक्रिया अनुसार यो निर्णय गरेको जनाएको छ। तर हाल देशको सुरक्षा, प्रशासनिक दबाब र राजनैतिक चपेटाबीच यस्तो सरुवा हुनुलाई सक्रिय प्रशासनिक चहलपहलको संकेतका रूपमा हेरिएको छ।




