मुख्य समाचार

कमल थापा पक्राउपछि आकस्मिक बैठक

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि पार्टीभित्र उच्चस्तरीय छलफल सुरु भएको छ। थापाको गिरफ्तारी राप्रपा नेपालले आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बोलाएको छ। पार्टी महामन्त्री राजाराम बर्तौलाका अनुसार, केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूलाई बैठकमा उपस्थित हुन भनिएको छ। बैठकमा अध्यक्ष थापाको गिरफ्तारीपछिको अवस्था मूल्यांकन गर्दै भोलिका रणनीति तय गरिने बताइएको छ।

राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्रको माग र संघीयता खारेजजस्ता एजेन्डा अघि सारेर राप्रपा नेपाल आन्दोलित छ। सोही आन्दोलनको क्रममा नक्सालस्थित प्रहरी मुख्यालयनजिक प्रदर्शनरत अवस्थामा थापा पक्राउ परेका थिए। पार्टीले अब आन्दोलनलाई कुन स्वरुप दिने, सरकारसँगको टकरावलाई कस्तो मोडमा लैजाने भन्नेबारे बैठकमा गम्भीर छलफल हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा राजावादी आन्दोलन चर्किंदै गएको अवस्थामा कमल थापाको गिरफ्तारी र राप्रपाको बैठकले आन्दोलनलाई नयाँ दिशा दिने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *