काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।
आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरूले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनीता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे । यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रूपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो ।
उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारे ।
उनले भने ‘हरेक पटक वाइसिएल नेपालका भेला वा सम्मेलनमा उपस्थित हुँदै गर्दा ऊर्जा, भरोसा र आशा जाग्ने गर्दछ । आजपनि हामीलाई ऊर्जा प्रदान गरेको छ । वाइसिएल नेपाललाई हामीले सहायक संगठटनको रुपमा व्याख्या गर्नुभयो । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित भएको मान्यता मात्र हो । सहायक संगठन मात्र होइन, यसलाई कम्युनिष्ट पार्टीको उत्तराधिकारीहरूको संगठन पनि भनेर चिन्नुपर्छ । कम्युनिष्ट नेताहरू तयार पार्ने कारखानाको रुपमा पनि वाइसिएललाई चिनिन्छ । सहायक संगठनमात्र हैनौँ नेता बन्ने तयारीमा छौँ भनेर बुझ्नु नै वाइसिएलको भुमिका र जिम्मेवारीलाई आत्मसात् गर्न आग्रह गर्न चाहन्छु ।
मैले २०३८ सालमा भएको युवाहरूको भेलाबाट नेतृत्वमा आएदेखि जे बुझे, जे भोगे, त्यसको नेतृत्व हुँदै पार्टी नेतृत्वमा जाने उपक्रम म आफैँले भोगेको छु । त्यसबाट हेर्दा पनि पार्टीका आउँदा दिनका नेताका रुपमा बुझ्छु । तपाईँहरू सबैले आफूलाई नेता बन्नेबाटोमा अगाडि सार्नुहुनेछ भनेर अनुरोध गर्न चाहन्छु । मैले भन्ने दुई तिनवटा कुरा थोरै विचारका कुरा हामीले विचार र राजनीति यान्त्रिक हुँदैन । देशकाल परिस्थितिअनुसार वर्ग सङ्घर्ष, राजनीतिक सङ्घर्ष हुँदै जान्छ । हामीले हिजो जनयुद्धको तयारी गर्दा या अगाडि बढ्दै गर्दा होस् । जनआन्दोलनपछिका घटनाक्रममा होस् । हामीले हिजो भनेको भन्दा अलि नौलो तरिकाले क्रान्ति अघि बढ्यो । तर, मार्क्सवादले भनेकोजस्तै, या लेनिनले प्रत्येक देशमा क्रान्ति आआफ्नै ढंगले हुन्छ ।
क्रान्ति कुनै नक्कलअनुसार हुँदैन । विकासको प्रकृतिअनुसार नै क्रान्तिले आफ्नो बाटो बनाउँदै लान्छ । क्रान्ति एउटा सही विचार र नीतिको आधारमा जनताले गर्ने महान् जनकार्य हो । हाम्रो देशमा नयाँ जनवादी क्रान्ति हामीले सोचेजस्तो भएन । तर, पुँजीवादी जनवादी क्रान्ति सफल भएन । निरंकुश तन्त्रको अन्त्यसँगै जो परम्परागत संसदीय व्यवस्था होइन । यथास्थितिवादीले के भनेका छन् भने संघीय लोकतान्त्रिक व्यवस्था पनि संसदीय व्यवस्था जस्तै हो भनेर व्याख्या गर्ने कोसिस गरिरहेका छन् । यो सर्वहारा वर्गको नेतृत्वमा, मूल रुपमा कम्युनिष्ट पार्टीको भूमिकामा समानुपातिक, समावेशी व्यवस्था हो । र, यथास्थितिवादीले प्रतिक्रियावादीहरुले यसलाई विशुद्ध संसदीय व्यवस्थाको रुपमा अघि बढाउने अभ्यास गरिरहेकोले यस बारेमा अहिले प्रतिवाद गर्नु जरुरी छ ।
मौलिक अधिकारको रुपमा अन्य जे जस्ता अधिकारको व्यवस्था गरिएको छ । त्यो परम्परागत संसदीय व्यवस्थामा कहीँ कतै समेटिएको छैन । र, यो हामीले सोचेजस्तो नौलो जनवादी व्यवस्था पनि हैन । सङ्क्रमणकालीन संघीय गणतान्त्रिक व्यवस्था रहेको छ । हामी अहिले राम्रोसँग विवेक पुराउन सकियो भने देश एउटा युगान्तकारी युगमा पुग्ने नै भयो र त्यसको जिम्मेवारी हामी क्रान्तिकारीहरूले लिनु नै पर्ने भयो । चुनवाङ बैठकपछि त्यतिबेलाका पार्टीहरूसँग हाम्रा वार्ताहरू भए समावेशी प्रतिनिधित्वका लागि भएका बहसपछि त्यसैका आधारमा शान्ति सम्झौता भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र संसदवादी पार्टीहरूसँग मिलेरमात्र आउँछ ।
माओवादी एक्लैले काठमाडौं कब्जा गरेर मात्र आउँदैन, त्यसैले अलिकति घुम्तिबाटोमा जानु छ भनेर नै हामी त्यो बाटोबाट जानुपर्छ भनेका हौँ । आज हामीले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्नुपरिरहेको छ । राजनीतिक संघर्षको पनि निकै पेचिलो र जटिल अवस्थाबाट नेपाली समाज गुज्रिदैछ । एकातिर यथास्थितिवादविरुद्ध लड्नुपरेको छ भने अर्कोतिर प्रतिगमनविरुद्ध लड्नुपर्ने अवस्था छ । हामीले यो संविधानमा हाम्रो अपनत्व, स्वामित्वको रक्षाका लागि उभिनेसँग आगामी दिनमा तालमेलपनि हुनसक्छ । गणतन्त्र संरक्षण गरिदिएको भरमा भ्रष्टाचारलाई संरक्षण गर्ने, सुशासन दिन नसक्ने सरकारको कामकारबाही कुनै हालतमा स्वीकार्य हुनसक्दैन ।
एकतातिर यथास्थितिवादी धार जो अहिलेको सरकारमा रहेकाहरूले गरिरहेका छन् भने त्यसकाविरुद्ध बलियो जवाफ दिँदै आएका छौँ र आगामी दिने नै छौँ । भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्यायको अभियान, हामीले सुरु गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने अभियानमा यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको छ । यथास्थितिवाद र प्रतिगमनका विरुद्ध वैचारिक क्षेत्र र गाउँ गाउँ, टोल टोल र घरघरमा पुराउनुपर्ने समय आएको छ । अहिले जसरी प्रतिगमनकारीहरूले राजाको बारेमा तर्क गर्न थालेका छन् ।
तर, तदारुकताकासाथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा छाडा हुन थालेका हुन् कि भन्ने परेको छ । हिजो २५० वर्षसम्म शासन गरेर के दियो । नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौँ । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मूर्ति चोरेर विदेश पुराउनेपनि यिनै हुन् । तस्करहरू को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ । विकासका विषयमा पनि तथ्यसहित जनतालाई बुझाउनुपर्ने समय भयो । त्यसैले राजावादीले फैलाउन खोजेका भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने भएको छ ।’
अध्यक्ष दाहालले माओवादी विरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेत लगाएका हुन् ।




