देश

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

खाँदबारी (सङ्खुवासभा)।शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले करिब ५० मिटर कच्ची सडक बगाउनुका साथै लघु जलविद्युत् आयोजना र अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्ण रूपमा बगाएको छ। उक्त आयोजना मार्फत १६० घरधुरीलाई विद्युत् आपूर्ति हुँदै आएको थियो। यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको छ, जसबाट २५० घरधुरी लाभान्वित थिए।

बाढीले काठेपुल लगायतका अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको जनाइएको छ। हाल घटनास्थलमा प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन्। अध्यक्ष भोटेका अनुसार क्षतिग्रस्त सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *