चितवन ।गर्मी छल्न र प्रजननका लागि चितवन आएका आगन्तुक चराहरूले बच्चा कोरल्न थालेका छन्। फागुनदेखि यहाँ आउन थालेका अधिकांश चराहरू वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन्।
‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारीका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा ६० देखि ८० प्रजातिका आगन्तुक चरा देखिन्छन्। ती चरा यहाँ बच्चा कोरेर, बच्चा उड्न सक्ने भएपछि भदौ र असोज महिनामा आफ्नो गन्तव्यतिर फर्कने गर्दछन्।
विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिका चरामध्ये करिब ४० प्रतिशत प्रजाति बसाइँसराइ गर्ने हुन्छन्। नेपालमा ती चरा वर्षमा दुई पटक—जाडो र गर्मीमा—आउने गरेका छन्।
विँडारीका अनुसार जाडो मौसममा साइबेरिया, मङ्गोलिया लगायतका स्थानबाट चरा नेपाल हुँदै भारतसम्म पुग्छन्। गर्मीमा भने भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एशिया र अफ्रिकाबाट चरा चितवन क्षेत्रमा आउने गर्दछन्।
यी चराहरू नदी किनार, वनक्षेत्र र घाँसे मैदानमा रमाउने गर्दछन्। गर्मीमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजातिका चराहरूको संख्या बढी हुने विंडारीको भनाइ छ।
वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले चरा अवलोकनका लागि पर्यटकको चाप बढेको छ। झाडी र रुखमा बनाइएका गुँडहरूमा बच्चा कोरेका चरा सजिलै देख्न सकिने भएकाले चराप्रेमी तथा पर्यटकका लागि यो उपयुक्त समय भएको उनले बताए।
नेपालमा ९०० प्रजातिका चरा पाइन्छन् भने चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा ६५२ प्रजातिका चराहरू पाइएका छन्।




