देश

बारामा भारतीय कारबाट ठूलो मात्रामा लागुपदार्थ बरामद, दुई जना पक्राउ

काठमाडौं । बारा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा लागुपदार्थ बरामद गरेको छ। कारमा लुकाएर ल्याइएको लागुपदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भारतको भैसालीका २७ वर्षीय धिरजकुमार सिंह र मोतिहारीका १८ वर्षीय चन्दनकुमार पटेल हुन्। बाराका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार धिरजकुमार कार चलाउँदै थिए भने चन्दन लागुपदार्थ ओसारपसारमा संलग्न थिए।

बीआर ०१ बीयू ३४८५ नम्बरको कारमा २१ हजार ६०० वटा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र ७६ बोतल ओनरेक्स सिरप लुकाइएको अवस्थामा फेला परेको हो। प्रहरीले कारको सिटमुनी र ढोकाको भागमा लागुपदार्थ राखिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले भारतबाट नेपाल छिरेको कारलाई जीतपुर सिमरा उपमहानगरपालिका–२१ मा चेकजाँच गर्दा उक्त लागुपदार्थ भेटिएको हो। पछिल्लो समय भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागुपदार्थ ओसारपसारमा वृद्धि हुँदै गएको छ। प्रहरी तथ्यांकअनुसार मधेश प्रदेशमा दैनिक ५ देखि २५ जनासम्म लागुपदार्थ सम्बन्धी मुद्दामा पक्राउ पर्ने गरेका छन्। यसले सीमावर्ती क्षेत्रमा निगरानी थप कडाइ गर्नुपर्ने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *