काठमाडौँ । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध नखुलाउने अडान लिएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठकमा विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायम राख्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परिवारले आफुहरु आफ्नो अडानमा कायम रहेको र गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको बैठक अगाडी बढ्न नसक्ने बताउदै आफुहरुसँग भिजिट भिसा प्रकरणमा केही सुचना आएकोले त्यो सूचना संसद बैठकमा राख्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बजेट प्रस्तुत गर्न दिएकोमा विपक्षी दलहरुलाई धन्यवाद दिदै बजेट पारित गर्ने विषय पनि संबैधानिक दायित्व भएकोले यसमा सहयोग हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विहिबार आफुले संसदमा राखेको कुरा आजको बैठकमा राखेको बताउदै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म अगाडी बढ्न नसक्ने स्पष्ट गरेका छन् ।




