देश

कांग्रेस नेता गणेशबहादुर खड्काको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौंनेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्।

खड्काको ८२ वर्षको उमेरमा दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। उनी विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा खड्काको निधनको खबरले दुःखी र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

खड्काको राजनीतिक यात्रा
स्वर्गीय खड्काको कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ। विक्रम संवत् १९९९ साउन १९ गते जन्मेका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला पार्टी सभापति थिए।

नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका साथै विभिन्न सङ्घर्ष र आन्दोलनहरूका क्रममा उनले पटक–पटक जेलजीवन, प्रहरी हिरासत र यातनासमेत भोगेका थिए। विसं २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र २०६४ मा संविधानसभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए। विसं २०५६ मा उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए।

विसं २०५२ मङ्सिरमा उनी भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्यमन्त्री भएका थिए। स्वर्गीय खड्काले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको कांग्रेसले जनाएको छ।

कांग्रेसले खड्काको निधनबाट एक कुशल सङ्गठनकर्ता, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *