देश

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …

झापा। मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र ढकमक्क फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान अहिले पर्यटकीय स्थलमा परिणत भएको छ। पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिणमा रहेको सतिघट्टा चिया बगानको चार बिघाहा क्षेत्रमा रहेका एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएका छन्।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएकाले पर्यटकहरूको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए। “पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए,” उनले भने, “यसपाली मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौं। व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ।”

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ ले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्वीर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओलीको भनाइ छ।

पर्यटकको चहलपहल र व्यवस्थापन
जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् र उनीहरू फोटो तथा भिडियो खिचाएर रमाउने गरेका छन्। मानिसहरूको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरू राखिदिएका छन्।

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दासमेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन्। घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरूको सङ्ख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताए। उनले भने, “यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रङ्गका फूलहरू ढकमक्क छन्। मनमोहक वातावरण भएकाले मानिसहरू घुमफिरका लागि आएका हुन्। यसलाई दिगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाइ र बस्ने चौतारोहरूको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ।”

दिगो पर्यटन र फूलको पहिचान
‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तब्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेको कारण पूर्वाधारको दिगो प्रबन्ध गर्न कठिनाई छ। वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरूसँग खाली चौर र फूल फुलेको जति लगभग चार पाँच बिघाहा जग्गालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सल्लाह भइरहेको बताए।

चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयबासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताए। उनले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने वनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको जानकारी दिए। खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राखेका हुन्।

गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’ का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफूले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताए। चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरू खुलेका छन्। बदाम, पोलेको मकै, खरबुजा, काँक्रा, चाउचाउ, मोमो, चटपटे लगायतका खानेकुरा बिक्री भइरहेका छन्। स्थानीय कमल खनालले हरेक दिन सयौं सङ्ख्यामा चारचक्के सवारी साधन र मोटरसाइकल लिएर पर्यटकहरू यहाँ आउने गरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *