देश

विवाहमा ढिलाइ, युवाशक्ति विदेश पलायन : जनसंख्या बनावटमा खतराको संकेत

काठमाडौं । नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो । पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ ।

नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार वि.सं. २०१८ र २०७८ बिचको समयावधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत विन्दुले वृद्धि भएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए ।

उनले २०१८ को अविवाहित पुरुषको अंश २८ प्रतिशत रहेकोमा २०७८ मा ३८ प्रतिशत पुगेको छ छ भने सो अवधिमा अविवाहित महिलाको अंश १५ प्रतिशतबाट बढेर २८ प्रतिशतमा पुगेको जानकारी गराउनु भयो । यस्तै, पछिल्लो ६० वर्षमा विवाहित पुरुष र महिलाको अनुपात क्रमशः करिव ६ र ५ प्रतिशत विन्दुले घटेको छ । विवाहित पुरुष र महिलाको अनुपातमा देखिएको सो गिरावट सोही अवधिमा देखिएको अविवाहित पुरुष तथा महिलाको अनुपातमा भएको वृद्धिसँग समानुपातिक नदेखिएको निर्देशक आचार्यले बताए । उनले सहरी क्षेत्रको तुलनामा ग्रामीण र अर्धसहरी क्षेत्रमा विवाहित पुरुष तथा महिलाको अनुपात बढेको देखिएको छ । यस्तै, सहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात ग्रामीण र अर्धसहरी क्षेत्र भन्दा बढी देखिएको उनले बताए ।

२०७८ को जनगणनाअनुसार नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सङ्ख्याका आधारमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् । यस्तै, नेपालमा ३ दशमलव २ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेको कार्यालयका निर्देशक आचार्यले बताए । उहाँले २०४८ देखि २०७८ को जनगणना अवधिमा हिन्दु धर्म मान्ने जनसङ्ख्याको प्रतिशतमा गिरावट आएको बताए । तर २०५८ को तुलनामा २०६८ को जनगणनाका बीचमा थोरै वृद्धि भएको देखिएको छ ।

कार्यालयकाअनुसार नेपालको जनसङ्ख्याको २० दशमलव १ प्रतिशत दशदेखि १९ वर्ष उमेर समूह, १९ दशमलव ७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरीहरू रहेका छन् । नेपालमा किशोर–किशोरी जनसङ्ख्या २०१८ मा १८ लाख ७० हजार रहे पनि २०६८ मा ६४ लाख १० हजार पुगेको थियो । तर २०७८ को जनगणन अनुसार यो सङ्ख्या घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ । किशोर–किशोरीको जनसङ्ख्या युवाको तुलनामा केही बढी रहेको देखिए पनि अघिल्लो दशकमा आएको गिरावटका कारण भविष्यमा युवाहरूको जनसङ्ख्या पनि घट्दै जाने देखिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइसराइ र पढ्न जाने ट्रेन्ड देखिएको बताउनु भयो । उहाँले विदेशबाट युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको जिकिर गरे ।

युवाहरूको जनसङ्ख्या घट्नु तथा काम गर्ने उमेर समूहका युवाहरू घट्नु क्रियाशील उमेर घट्नु रहेको बताउँदै यसले उत्पादन घटाउने बताए । उनले उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्ने बताउँदै यसले उमेरको हद विस्तारै ओरालो लाग्ने धारणा राख्नुभयो । उनले अब पनि केही नगर्ने हो भने पछि परिने जिकिर गरे ।

राष्ट्रिय जनगणना २०७८ अनुसार १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाईंसराइ गरेको देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *