देश

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन्। काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताए।

उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकै दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए।

“अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ। कुरा काट्नेहरू त गल्लीगल्लीमा भेटिन्छन्। काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए। त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे। अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन। यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ।”

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *