झापा। कोशी प्रदेशका चार वटा पालिकामा परीक्षणका रूपमा विश्व बैंकको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चालन भएको छ।
झापाको मेचीनगर नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नमुना परियोजना सुरु भएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताइन्।
नेपालमा कोभिड–१९ को महामारीपछि लैङ्गिक हिंसा बढेर गएको हुँदा यसको रोकथाम र प्रतिकार्यका लागि विश्व बैंकको सहयोगमा परीक्षणका रूपमा देशभर छ वटा र कोशीका चार वटा पालिकामा परियोजना लागू भएको उनले जानकारी दिइन्।
लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा र नवलपरासीको रामग्राम नगरपालिकामा पनि यो परियोजना लागू भएको छ। विश्व बैंकले चालु आर्थिक वर्षमा पालिकालाई परियोजना सञ्चालनका लागि रु ४० लाखका दरले सहयोग प्रदान गरेको उनले बताइन्।
परियोजना परीक्षणको रूपमा पाँच वर्षको हुने र त्यसको प्रभावकारिता मूल्याङ्कनपछि देशभरका सबै पालिकामा यसलाई लैजाने नेपाल सरकारको योजना रहेको उप्रेतीले बताइन्।
‘पुरुष सञ्जाल’ गठन र भूमिका
परियोजना सञ्चालन भएका पालिकामा समाजका प्रतिष्ठित व्यक्तिलाई समेटेर सद्भावना दूतका रूपमा ‘पुरुष सञ्जाल’ गठन गरिनेछ। यस सञ्जालमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रोकथाम र प्रतिकार्यसम्बन्धी कार्यक्रम गरिने भएको छ।
परियोजनाअन्तर्गत पहिलोपल्ट मेचीनगरमा र त्यसपछि धनकुटामा पुरुष सञ्जाल गठन गरेर सञ्जालका सदस्यहरूलाई दक्षता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिसकेको उप्रेतीको भनाइ छ।
मेचीनगर नगरपालिकाले कार्यपालिकाबाट पुरुष सञ्जालसम्बन्धी कार्यविधि अनुमोदन गरी नगरको राजपत्रमा प्रकाशित गरिसकेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए। कार्यविधिअनुसार सञ्जाल कार्यसमिति मनोनीत गरिएको हो र समितिको कार्यकाल पाँच वर्ष रहने उल्लेख छ।
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समाजमा भइरहेका लैङ्गिक हिंसाविरुद्ध उभिन, आदर्श पुरुषको रूपमा समाजमा सकारात्मक सोचको विकास गर्न र पितृसत्तात्मक गलत सोचलाई परिवर्तन गर्न पुरुष सञ्जालले योगदान पुर्याउने अपेक्षा गरिएको बताइन्।
मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले परियोजनाअन्तर्गत गठन भएको सञ्जालका संयोजक र सदस्य अवैतनिक हुने र समाजमा लैङ्गिक हिंसा हुन नदिने गरी समुदायमा विभिन्न कार्यक्रम लैजाने जानकारी दिइन्।
परियोजनाअन्तर्गत पालिकामा मनोपरामर्शकर्ता नियुक्त हुने र हिंसा पीडितको सुरक्षा र सहयोगका लागि सुरक्षित कक्षको स्थापना गरिने भएको छ।
पुरुष सञ्जाल नयाँ अवधारणा भएकाले समाजमा यसका बारेमा चासो धेरै रहेको जनाउँदै केन्द्रीय पुरुष सञ्जालका सदस्य सञ्जोग ठकुरीले सञ्जालका हरेक सदस्य आदर्श पुरुष बन्न सके मात्र समाजमा लैङ्गिक हिंसाको अन्त्य गर्न सञ्जालको अभियान प्रभावकारी हुने बताए।




