दोधारा चाँदनी । महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको १,३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको छ। विमानस्थलको कुल १,५२५ मिटर धावनमार्गमध्ये यो काम सम्पन्न भएको हो।
मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले दिएको जानकारीअनुसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्त गर्न ढिलाइ भएपछि हाललाई १,३०० मिटर मात्र कालोपत्रे गरिएको छ। उनले अब उक्त जग्गा प्राप्त भएपछि बाँकी रहेको धावनमार्ग निर्माणको काम सुरु गर्ने तयारी भइरहेको बताए। “धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो, त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौँ,” आयोजना प्रमुख ओझाले भने, “अब जग्गा प्राप्तिमा कुनै विवाद छैन, केही दिनमा काम सुरु हुन्छ।” उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको र धावनमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य रहेको बताए।
पहिलो चरणको धावनमार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले जानकारी दिए। मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको छ। यसअनुसार, भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहनेछ।
पर्यटकीय सम्भावना र स्थानीयको अपेक्षा
विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन्। “विमानस्थल सञ्चालनमा आएपछि भारतको उत्तराखण्ड/उत्तरप्रदेशको ठूलो जनसङ्ख्यालाई यहाँबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र पोखराको पर्यटकीय क्षेत्रसम्म लैजान सकिने सम्भावना छ,” यहाँका पूर्व सांसद डा. दीपकप्रकाश भट्टले भने, “पर्यटन क्षेत्रबाट रोजगारीका सम्भावना बढ्दै गएका छन्, विमानस्थलले कञ्चनपुरको विकासमा महत्त्वपूर्ण टेवा पुर्याउँछ।” उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले विमानस्थल सञ्चालनमा आउन जरुरी रहेको बताए।
विमानस्थल सञ्चालनमा आए पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ। अहिले यहाँबाट आउने पर्यटक सडक मार्ग हुँदै काठमाडौँ, पोखरालगायतका पर्यटकीय गन्तव्यमा जाने गरेका छन्। “यहाँ धेरै ठाउँमा विमानस्थल बनेर पनि सञ्चालनमा आउन सकेका छैनन्,” यहाँका स्थानीयवासी गणेश जोशीले भने, “विमानस्थल बनेर मात्रै हुँदैन, विमानस्थलमा विमान सञ्चालन हुने कुरामा पनि सुनिश्चितता हुनुपर्छ।” उनले कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको बताए।
विसं २०३४ सालदेखि २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। बन्द विमानस्थल पुनः सञ्चालनका लागि तीन वर्षमा काम सक्ने गरी २०७८ मा निर्माण कम्पनीसँग रु ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो। उक्त समयावधि गत वर्ष माघ १० मा सकिएपछि एक वर्ष म्याद थप गरिएको छ।




