काठमाडौँ। यस वर्ष नेपालमा मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यो जानकारी दिएको हो।
महाशाखाका मौसमविद् डेभिड ढकालले राससलाई बताएअनुसार, विगतमा देशको पूर्वी भागबाट मनसुन जेठ ३० गतेतिर भित्रिने गरेकोमा यस वर्ष चाँडो हुने अनुमान गरिएको छ।
यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ। भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ गतेसम्ममा यो नेपाल भित्रिसक्ने उहाँले बताए। यस वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।




