काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्रै जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। शिक्षक संगठनहरूसँग भएको सहमतिअनुसार ऐन तोकिएको समयभित्रै ल्याउने लक्ष्यसहित काम भइरहेको उनले मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग बताएका हुन्।
मन्त्री पन्तका अनुसार विद्यालय शिक्षा विधेयकमा समेटिने विषयमा शिक्षक महासंघसँग निरन्तर संवाद जारी छ। “शिक्षकहरूको सुझाव र सहमतिलाई ध्यानमा राखेर ऐन ल्याउन लागिएको हो,” उनले भने।
यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा पन्तले विधेयकलाई टुंगोमा पुर्याउन एक साताको समय माग गरेका थिए। मन्त्रालयले अहिले विधेयकको मस्यौदालाई अन्तिम रूप दिइरहेको छ।
विद्यालय शिक्षा ऐनले देशभरको विद्यालय शिक्षामा एकरूपता ल्याउने, संघीय संरचनामा स्पष्ट अधिकार बाँडफाँट गर्ने र शिक्षकको व्यवस्थापन तथा गुणस्तरीय शिक्षाको ढोका खोल्ने अपेक्षा गरिएको छ।




