बागलुङ। बागलुङको बरेङ गाउँपालिका-१ र २ को सीमामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बरेङ बजार नजिकैको उक्त पार्क गाउँपालिकाले रु ४० लाख खर्चेर निर्माण गरेको हो।
गाउँपालिका कार्यालयका अनुसार तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यसै वर्षदेखि सञ्चालनमा आएको हो। करिब दुई हेक्टर क्षेत्रफलमा फैलिएको पार्कमा बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, फोटो खिच्ने स्थान, भवन, खुला व्यायामशालालगायत संरचना निर्माण गरिएको छ।
स्थानीय चित्र थापाका अनुसार, झाडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको छ। बरेङसहित बागलुङ, गुल्मी, स्याङ्जा, जैमिनीलगायत स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्। गर्मीयाम सुरु भएपछि रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको थापाको भनाइ छ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले क्षेत्रलाई जोडिएपछि पर्यटकको आगमन बढेको जानकारी दिनुभयो। उहाँले प्राकृतिक सौन्दर्यले भरिएको ठाउँको संरक्षण र प्रवर्द्धन गरी स्थानीयस्तरमै आयआर्जनको स्रोत विकास गर्ने लक्ष्यअनुसार पार्क निर्माण गरिएको बताए।
पार्क क्षेत्रबाट गुल्मी, स्याङ्जा, माछापुच्छ्रेलगायतका हिमशृंखला पनि अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीयले बताएका छन्।




