मुख्य समाचार

उपमेयर डंगोलको अगुवाइमा मेयर बालेनलाई ७ दिनको अल्टिमेटम, कार्यपालिका बैठक माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले मेयर बालेन शाहलाई कार्यपालिका बैठक बोलाउन ७ दिने समयसीमा दिएका छन्।

नगर प्रमुख शाहलाई बुझाइएको सामूहिक पत्रमा कार्यपालिका बैठक पौष १४ यता नबसेको उल्लेख गर्दै बैठक तत्काल आह्वान गर्न माग गरिएको छ। बैठक नबसेका कारण महानगरको नीति, योजना र निर्णय प्रक्रियामा अन्य प्रतिनिधिहरूलाई सहभागिता नदिइएको गुनासो उठाइएको छ।

उक्त पत्रमा रास्वपाबाट निर्वाचित एकमात्र वडाध्यक्ष रोजिना श्रेष्ठसहित अधिकांश सदस्यहरूको हस्ताक्षर रहेको छ। विशेषगरी श्रेष्ठ निर्वाचित भएयता कार्यपालिका बैठक एक पटक पनि नबसेको उल्लेख गर्दै बैठक नबसी महानगर सञ्चालन गर्नु अलोकतान्त्रिक भएको तर्क गरिएको छ।

पछिल्ला दिनहरूमा कार्यशैलीको कारण मेयर बालेन एक्लिँदै गएको विश्लेषण भइरहेका बेला कार्यपालिका सदस्यहरूको यस्तो सामूहिक दबाब थप राजनीतिक सन्देशवाहक बनेको छ।

महानगरका निर्णय प्रक्रियामा समावेशीता र पारदर्शिता सुनिश्चित गर्न कार्यपालिका बैठक आवधिक रूपमा बोलाउनु स्थानीय शासनको कानुनी दायित्व हो। अब मेयर बालेनले ७ दिनभित्र बैठक बोलाउने वा अझै पनि मौन रहने भन्नेमा चासो बढेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *