काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिणाममा पहेँलो र सेतो धातुसँगै २८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।
परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार महानगरपालिका ३२ कोटेश्वरको सेती ओपी मार्गमा चेकजाँच गर्ने क्रममा नगद र शङ्कास्पद धातुसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
सूचना अधिकारी बोहराका अनुसार प्रहरीले भारतको महाराष्ट्र घर भई काठमाडौँको कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेश मगरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले मगरको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ७३४.२९ ग्राम, चाँदी जस्तो देखिने धातु ९ केजी ५०० ग्राम र नगद २८ लाख ९३ हजार रुपियाँ बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




