मुख्य समाचार

प्रवक्ता मानन्धरलाई मेयर बालेनको ७ दिने स्पष्टीकरण , काठमाडौँ महानगरपालिकामा प्रतिशोधपूर्ण द्धन्द्ध

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा १७ का अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धरलाई सात दिनभित्र जवाफ दिन माग्दै औपचारिक स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण मागिएको यो पत्रमा मानन्धरले सार्वजनिक रूपमा दिएको भनिएको विवादास्पद अभिव्यक्तिको विषयमा गम्भीर आपत्ति जनाइएको छ।

के भनिएको छ स्पष्टीकरण पत्रमा? मेयर बालेनको सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको पत्रमा मानन्धरले मेयरको व्यक्तिगत जीवनमा आपत्तिजनक टिप्पणी, निराधार आरोप र सार्वजनिक प्रतिष्ठामा आँच आउने अभिव्यक्ति दिएको उल्लेख छ। यस्तो अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा परको चरित्रहत्या भन्दै कानुनी दृष्टिले आपराधिक र दण्डनीय ठहर गरिएको छ। “जनप्रतिनिधिले यस्तो अमर्यादित अभिव्यक्ति दिनु शोभनीय होइन।” साथै, मुलुकी फौजदारी संहिता २०७४ अनुसार कानुनी कारबाही सम्भव हुने जनाउँदै, भविष्यमा यस्ता कार्य नगर्ने लिखित प्रतिबद्धता सहित गल्तीको स्वीकारोक्ति पेश गर्न भनिएको छ।

गत पुसमा मेयर बालेनले काठमाडौं टावरसम्बन्धी नक्सा प्रक्रियाबिना पास गरेको विषयमा मानन्धरमाथि छानबिन थालेका थिए। चैत २१ मा नगरप्रहरी प्रमुखले कार्यालय प्रवेशमा रोक लगाएपछि मानन्धरसहित अन्य वडाध्यक्षहरू असन्तुष्ट भएका थिए। वडाध्यक्षहरूले मेयरको ‘एकल निर्णय शैली’ विरुद्ध बोल्दै आएका छन्। घटनाक्रमले मेयर र वडाध्यक्षहरूबीचको आन्तरिक तनावलाई झनै सतहमा ल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *