काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरूको भेलालाई सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्नेछन्।
एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरूको भेला बोलाएको हो।
ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरू सहभागी हुनेछन्।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ।
बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरूको भेला बोलाइएको हो।
भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन्। भेला आज र भोलि सञ्चालन हुनेछ।




