दोधारा चाँदनी । विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ।
पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्त्वपूर्ण कार्यक्रममा समेत प्रदर्शन हुने गरेको छ। विभिन्न ठाउँमा नाच देखाएबापत छलिया नाच्नेहरूको राम्रै आम्दानी हुने गरेको छ। महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ।
उनी छलिया नृत्यका लागि सुदूरको तराईदेखि पहाडसम्म छलिया समूह लगेर पुग्ने गरेका छन्। विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेको उनको भनाइ छ। पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ। “हरेक दिन छलिया नृत्यका लागि तीन-चार फोन आउँछ, एक महिनाअघि नै बुकिङ हुने गरेको छ,” उनले भने। उनका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ।
छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन्। “छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो, यसको संरक्षण गर्छु भनेर लागेको हुँ,” उनले भने, “अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ, आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो।” उनले विवाह तथा महोत्सवमा छलिया नृत्यको रु ३० हजारदेखि ५० हजारसम्म शुल्क लिने गरेको बताए। “हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै यही हो, विवाहको याममा एक दिन खाली बस्दैनौँ।” उनले आफ्नो १२ जनाको टिमको आम्दानीको मुख्य स्रोत छलिया नृत्य रहेको बताए। “दुई छोरी र एक छोराको पढाइ खर्च र घरायसी जोहो छलियाबाटै हुने गरेको छ,” उनले भने, “विभिन्न ठाउँमा छलिया नाच देखाएबापत राम्रै आम्दानी हुने गरेको छ।” उनले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर, कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताए। तर पछिल्लो समय दमाहा बनाउन भने निकै खर्चिलो हुने गरेको उनको भनाइ छ। “एउटै दमाहा बनाउनका लागि २० हजारसम्म खर्च हुने गरेको छ,” औजीले भने, “खर्चिलो भए पनि पुरानो संस्कृतिका हिसाबले छलियाको माग धेरै छ।” सुदूरपश्चिमको प्रसिद्ध छलिया पछिल्लो समय व्यावसायिक बन्न थालेको छ। यहाँका विभिन्न समारोह, महोत्सव वा महत्त्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ।
अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरूमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताए। “पहिला पहिला विवाह र शुभकार्यमा आफ्नो छाक टार्न छलिया हुड्केली नाच नाचिन्थ्यो,” उनले भने, “अहिले छलिया हुड्केली नाच व्यावसायिक भएको छ, अग्रिम बुकिङ गर्नुपर्छ।” उनले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताए। “म ७० वर्षको भएँ, अहिले मेरो छोरालाई संयोजक बनाएको छु, उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ, यति धेरै माग छ,” उनले भने, “छलिया नाचेको रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छौँ।” उनले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको परिहन निकै महँगो हुने गरेको बताए।
अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन्। “छलिया नाचमा मनोरञ्जन गरिन्छ, हुड्केली नाचमा पुराना राजा रजौटा, वीर वीरङ्गना र देवीदेवताहरूका जीवन गाथा गाउने गरिन्छ,” उनले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाच हो, यो सुदूरपश्चिमको पहिचान हो।”
छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरू बताउँछन्। सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिए। उनले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताए।
“विशेषगरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्त्व र मौलिकता छ, छलिया नृत्य विशेषगरी विभिन्न माङ्गलिक अवसर विवाह, व्रतबन्ध, जात्रालगायतमा प्रस्तुत हुने गर्छ, छलिया नृत्य स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन्,” उनले भने, “छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाजागाजाको प्रयोग गरिन्छ।” उनका अनुसार छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ। टाउकोमा विशेष किसिमले मखमलको पगडि लगाइन्छ। छलियाको कम्मरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ।
“एक हातमा ढाल र एक हातमा तरबार लिई छलिया नृत्यको प्रदर्शन हुने गर्दछ,” उनले भने, “छलिया नाचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्ने र गीतहरूमा आन्दित तुल्याउने हाँसोठट्टालागयत र शृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन्, छेउटो पछि कुनै एक नाच्न योग्य लोकलयको गीत गाउँदै छलियाबाजो बजाइन्छ र धेरै बेरसम्म त्यही बाजोमा छलियाहरू नाच्दछन्, बाजा रोकिएपछि पुनः अर्को छेउटो प्रस्तुत गरिन्छ।”
छलिया नाचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिने साहित्यकार रमेश पन्त बताउँछन्। “उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ,” उनले भने, “दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो।” उनले पछिल्लो समय छलिया बाजाको माग धेरै बढेकाले छलिया नृत्य व्यावसायिक बनेको बताए।




