बङ्गलादेशका मुहम्मद युनुसलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित गर्न अन्तरिम नेताका रूपमा पदमा ‘रहन आवश्यक’ रहेको युनुसका एक मन्त्रिमण्डल सदस्य तथा विशेष सल्लाहकारले शुक्रबार बताएका छन् ।
गत वर्ष जन विद्रोहपछि सत्ता सम्हाल्नुभएका ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले दलहरूले उहाँलाई समर्थन नदिए पदबाट राजीनामा दिने धम्की दिनुभएको एक राजनीतिक सहयोगी र उहाँको कार्यालयका स्रोतहरूले बताएका छन् ।
सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र राजनीतिक अशान्तिमा छ र यहाँ दलहरूले विभिन्न माग राखी सडकमा प्रदर्शन गरिरहेका छन् ।
“बङ्गलादेश र शान्तिपूर्ण लोकतान्त्रिक सङ्क्रमणका लागि प्रोफेसर युनुस कार्यालयमा रहन आवश्यक छ”, युनुसका विशेष सल्लाहकार तथा हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रमुख फैज अहमद तैयबले फेसबुकमा एक पोस्टमा भन्नुभयो, “मुख्य सल्लाहकारले राजीनामा दिनु हुनेछैन, उहाँ सत्ताका लागि लालायित हुनुहुन्न ।”
यस हप्ता बङ्गलादेशको राजनीतिक सङ्कट बढेको छ । प्रतिद्वन्द्वी दलहरूले राजधानी ढाकाको सडकमा विभिन्न प्रतिस्पर्धी मागका साथ प्रदर्शन गरिरहेका छन् ।
शक्तिशाली बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का हजारौँ समर्थकले बुधबार ढाकामा पहिलो पटक अन्तरिम सरकार विरुद्ध ठूलो मात्रामा विरोध प्रदर्शन गरेपछि युनुसले राजीनामा दिने धम्की दिनुभएको बताइएको छ ।
युनुसले बढीमा जुन २०२६ सम्ममा चुनाव गराउने वाचा गर्नुभएको छ तर हसिनालाई अपदस्थ गरिएपछिको पहिलो अत्यधिक प्रतीक्षित चुनावमा अग्रणी मानिएको बिएनपीका समर्थकहरूले उहाँलाई चुनावको मिति तोक्न माग गरेका छन् ।
युनुसको सेनासँगको सम्बन्ध पनि बिग्रिएको बताइएको छ ।
स्थानीय मिडिया र सैन्य स्रोतहरूका अनुसार शक्तिशाली सेना प्रमुख जनरल वाकर–उज–जमानले बुधबार डिसेम्बरसम्ममा चुनाव गराउनुपर्ने बताउनुभएको थियो ।
तैयबले शुक्रबार सेनालाई चेतावनी दिनुभयो । “सेनाले राजनीतिमा हस्तक्षेप गर्न सक्दैन”, उहाँले लेख्नुभयो, “कुनै पनि सभ्य देशमा सेनाले त्यसो गर्दैन, डिसेम्बरसम्ममा चुनाव गराउनुपर्छ भनेर सैन्य प्रमुखले आफ्नो क्षेत्राधिकारको शुद्धता कायम राख्न असफल हुनुभयो ।”




