चितवन। चितवनको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन्।
इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन्। ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ। विसं २०७५ देखि घरबास सुरु गरिएको हो। सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरूको आम्दानीको प्रमुख स्रोत हो।
सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताए। हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन्। गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक बिलबहादुर थापामगर बताउँछन्। उहाँले भने, “यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो।”
जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उनले बताए। चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ। घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउँछन्। आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उनले बताए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङगढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताए। घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिए।
गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ। कोतघर १ करोड ३५ लाख रुपैयाँ खर्च गरेर बनाइएको छ।




