देश

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का, बैतडी केन्द्रबिन्दु

कञ्चनपुर । गएराति बैतडी जिल्लाको सदरमुकाम खलङ्गा गढीलाई केन्द्रबिन्दु बनाएर सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पकाे धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही समयपछि, करिब राति २ बजेतिर, ३.७ म्याग्निच्युडको पराकम्प (आफ्टरशक) पनि आएको पुष्टि गरिएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा गढी क्षेत्र नै रहेको जनाइएको छ।

भूकम्पको धक्का बैतडीसहित दार्चुला, बझाङ, डडेलधुरा लगायतका सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमासमेत व्यापक रूपमा महसुस गरिएको थियो।

हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै ठोस विवरण प्राप्त नभएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। उनका अनुसार, सम्भावित क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिइएको छ। यस्तै, जिल्ला प्रशासन कार्यालय डडेलधुराका सूचना अधिकारी द्वारिका ओझाका अनुसार डडेलधुरामा पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *