देश

बागमती प्रदेशसभामा चिट्ठा विधेयक पुनःविचार प्रस्ताव स्वीकृत

मकवानपुरगढी। बागमती प्रदेशसभामा चिट्ठा विधेयकलाई पुनःविचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलसहित विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले सो विधेयकलाई संसदमा प्रस्तुत गरेका थिए। विधेयकको सैद्धान्तिक पक्षमाथि सांसद रत्न ढकाल, भरतबहादुर केसी र रमेश महतले छलफलमा भाग लिएका थिए। सो पश्चात् उनीहरूले उठाउनुभएका विषयमाथि सम्बन्धित मन्त्री लामिछानेले जवाफ दिएका थिए। सो लगत्तै सभामुख भुवनकुमार पाठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामा निर्णयार्थ पेस गरेका थिए। उनले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई सभाले सर्वसम्मत स्वीकृत दिएको हो।

तत्कालीन समयमा प्रदेशसभा वैशाख १२ गतेको बैठकबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको थियो। तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जेठ १२ मा पुनःविचार गरियोस् भन्ने सन्देशका साथ फिर्ता गरेका थिए।

प्रदेश सभाको अर्को बैठक आगामी जेठ १४ मा बस्ने गरी स्थगित गरिएको छ। जेठ १४ गते (बुधबार) बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *