देश

परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ। जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो।

त्यस अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरिन्।

उनीहरूका बिचमा नेपाल–जापान सम्बन्धको ७० वर्षको इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भयो। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन्।

नेपाल भ्रमणको निम्तो र सहयोगको आग्रह
त्यस भेटका अवसरमा मन्त्री डा. राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन्। मन्त्री डा. राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरिन्।

मन्त्री डा. राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेको र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन्।

सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धन
परराष्ट्रमन्त्री डा. राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि सदियौँ पुरानो सम्बन्ध रही आएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, “दुई देशबीच भगवान् गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ। बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो।”

लुम्बिनी लगायत नेपालको प्राकृतिक, सांस्कृतिक अलौकिकताको अध्ययन एवम् अवलोकनका लागि नेपालमा वर्षेनी हजारौँ जापानी पर्यटक आउने गरेको भन्दै मन्त्री डा. राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालले यसै हप्ता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *