राइनासकोट (लमजुङ)। पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
विसं २०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो।
राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृङ्खलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ।
काठमाडौँबाट लमजुङको राइनासकोट पुगेका डा. ज्योतिप्रसाद गजुरेलले यहाँको आतिथ्यता र ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्द तुल्याएको बताए। यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका उनको बुझाइ छ।
उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दिपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ। लमजुङको सदरमुकाम बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखै अगाडि देख्न सकिन्छ। स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ।
ऐतिहासिक पृष्ठभूमि र विशेषता
रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको स्थानीय बताउँछन्। इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि यशोब्रह्मका छोरा नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए।
समुद्री सतहबाट १,७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो। यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।
होमस्टे सेवा र पर्यटकको आगमन
लमजुङको गुरुङबस्ती रहेको राइनासकोटका १७ घरमा होमस्टे सञ्चालन गरिएका छन्। यहाँ एक रातमा १०० जनासम्म मानिस सजिलै बस्न सक्छन्। राइनासकोट सामुदायिक होमस्टेका व्यवस्थापक शम्भु गुरुङले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको उल्लेख गरे।
“शुक्रबार र शनिबार ५० देखि १०० जनाको सङ्ख्यामा होमस्टेमा बास बस्न आउनुहुन्छ। अरु दिन ५० देखि ८० को हाराहारीमा पर्यटक आउनुहुन्छ,” उनले भने।
होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै वेलकम ड्रिङ्क्स, खाजा, रातिको स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको व्यवस्थापक गुरुङले बताए। वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ एकै खालका २० घर पुनःनिर्माण गरिएको छ। अमेरिकी नागरिक नतासाको सहयोगमा पुनःनिर्माण भएको उक्त ठाउँमा होमस्टे सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिएको उनको भनाइ छ।
नगरपालिकाको पहल र भविष्यका योजना
राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटको पर्यटनलाई थप विकास गर्नका लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए। “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरिएको छ। होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरेका छौँ,” उनले भने।
मौरीपालन, कुखुरापालन र तरकारीखेतीको विकासलाई नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख गुरुङले जानकारी दिए। केन्द्र र प्रदेश सरकारको सहयोगमा हाल राइनासकोटमा पार्कसमेत स्थापना गरिएको छ। उक्त कोटमा रहेको मन्दिरलाई पुनःनिर्माण, पुरातात्विक सम्पदाको संरक्षण, पार्क तथा बाटो निर्माणमा स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेको उनले बताए।
राइनासकोटबाट प्याराग्लाइडिङसमेत गरिँदै आइएको छ। चैत–वैशाखमा फूल्ने लालिगुँरास, फल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको नगरप्रमुख गुरुङको भनाइ छ। “ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ। जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दूध दूहेको, मोही मोथेकोलगायत दृश्य देख्न सकिन्छ,” उनले भने।
काठमाडौँबाट १५५ किलोमिटर टाढा रहेको लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोटमा पछिल्लो समय काठमाडौँ, चितवन, पोखरालगायत सहरबाट मानिस घुम्न आउने गरेका छन्।




