धरान (सुनसरी)। शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ। एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ। मकै किनेर फेरि धरान। यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ। त्यसपछि सुरु हुन्छ आगो र धुँवासँग खेल्न। उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्नुहुन्छ। एक दिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या।
उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ। काम गरेर आत्मनिर्भर बन्ने उहाँको सपना झन् तन्नेरी बन्दै गएको छ। “काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या! झन् झन् बानी पो पर्दोरहेछ। त्यसैले सुरुआती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन,” श्रेष्ठले भनिन्।
उहाँका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ। बारीमै मकै ठेक्कामा लिँदा ६० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म कबोल गर्नुपर्छ। एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीन जना मिलेर काम भइरहेको उहाँले सुनाइन्। “साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन। कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ,” श्रेष्ठले भनिन्।
यसरी ल्याइएको मकै प्रतिघोगा सानोको १५ रुपैयाँ र ठूलो ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। यही मकै बेचेर मासिक ७० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म कारोबार हुने गरेको उहाँले बताइन्। “यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु। न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ,” श्रेष्ठ भन्छिन्, “काम ग¥यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ। जिन्दगी चलाउने सहारा नै यही काम छ।”
हाल उहाँ एकल महिला हुनुहुन्छ। छ वर्षअघि श्रीमान्को निधन भएको थियो। पहिले श्रीमान्ले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाइन्। “अब अरू काम गर्न सक्दिनँ, मकै पोल्नु खासै गाह्रो भने छैन। खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ। दुःख हुन्छ भनेर काम छोड्न नि भएन! यसैले सबै चीज दिएको छ,” थकित अनुहारमा आशाको भाव झल्काउँदै उनले भनिन्।
श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आउनुभएको छ। सुरुदेखि नै यहाँ बसेर उहाँले हजारौँलाई स्वादिलो मकै दिइरहनुभएको छ। त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन। त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ। “मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहेका हुन्छन्। मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ। आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ,” उहाँले भनिन्।
यो उहाँको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो। यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ। “जुन दिन म काममा निस्कन्नँ, त्यस दिन छट्पटी हुन्छ। श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु। बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ,” मुस्कुराउँदै उनले भनिन्, “मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो। श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहेछ।”




