काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाले सामाजिक सद्भाव र सहिष्णुताको प्रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याएको छ। कम्तीमा १० वर्ष मिलेर बसेका ‘उत्कृष्ट दम्पती’लाई “ढुकुर जोडी” को रुपमा सम्मान गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा, मिलेर जीवनयापन गरेका र समाजमा सकारात्मक सन्देश दिने जोडीलाई प्रोत्साहनस्वरूप सम्मान गरिने उल्लेख छ। उपमेयर अकली चौधरीका अनुसार, पछिल्लो समय पति–पत्नीबीचको झगडा, लैंगिक हिंसा, गालीगलौजजस्ता मुद्दा न्यायिक समितिमा उल्लेखनीय रूपमा बढेपछि यस्तो कार्यक्रम ल्याइएको हो।
उनले जानकारी दिइन, पछिल्ला तीन वर्षमा मात्र १२६ वटा श्रीमान–श्रीमतीबीचको झगडा सम्बन्धी मुद्दा दर्ता भएका छन्। यस्तो चुनौतीपूर्ण परिवेशमा, लामो समयदेखि मिलेर बसेका जोडीलाई उदाहरणीय बनाउने उद्देश्यले “ढुकुर जोडी” सम्मानको थालनी गरिएको हो।
यो कार्यक्रमले समाजमा आपसी समझदारी र प्रेममा आधारित सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।





