काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा र आगजनीसहितको गतिविधिमा संलग्न भएकामाथि प्रहरीले अनुसन्धान पूरा गरेको छ।
अनुसन्धानपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ। आगजनीबाट सुनौलो इन्द्रेणी सहकारीको भवन जलेर नष्ट भएको र पत्रकार सुरेश रजकको ज्यान गएको घटनालाई गम्भीर रूपमा लिइएको छ।
प्रहरी प्रतिवेदनमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधजस्ता आरोपमा अभियोजन गर्नुपर्ने सिफारिस गरिएको छ।
अहिले पनि राज्यविरुद्ध र आपराधिक उपद्रव मुद्दामा ५० जना हिरासतमा छन् भने केही अभियुक्तहरूलाई हाजिर जमानीमा छाडिएको छ। सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ।




