देश

योगेश भट्टराईको प्रश्न: “प्राविधिक त्रुटि ठहरिएको पोखरा विमानस्थलमा कसरी उडान भइरहेका छन्?”

काठमाडौं । नेकपा (एमाले) सचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे उठाइएका प्राविधिक त्रुटिप्रति प्रश्न उठाउँदै, यस्तो विमानस्थलमा उडान कसरी सम्भव भइरहेको छ भन्ने जिज्ञासा राखेका छन्।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाए। सो प्रतिवेदनले पोखरा विमानस्थलमा ‘गम्भीर प्राविधिक त्रुटि’ रहेको निष्कर्ष निकालेको थियो।

“प्राविधिक हिसाबले त्रुटिपूर्ण भनिएको छ, तर विमान उडिरहेका छन्,” भट्टराईले भने, “यदि त्रुटिपूर्ण हो भने एउटा पनि विमान उड्न सक्दैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले उडान योग्य भनेर प्रमाणित गरिसकेको विमानस्थललाई उपसमितिले कसरी अमान्य ठहर गर्न सक्छ?”

उनले उपसमितिको निष्कर्षप्रति शंका गर्दै भने, “यो सामान्य विषय होइन। प्रतिवेदनमा गम्भीर कमजोरी छ। यसबारे टिप्पणी गर्दा सावधानी अपनाउनुपर्छ।”

सांसद भट्टराईले उपसमितिको सदस्यहरूमध्ये एक जना पूर्व वनमन्त्री भएको र उनले यसअघि विमानस्थल निर्माण प्रक्रिया सम्बन्धी निर्णयमा संलग्नता रहेको उल्लेख गर्दै, स्वार्थ बाझिएको अवस्था देखिएको बताए। उनले सोही आधारमा उपसमितिको प्रतिवेदन स्वीकार गर्न नसकिने धारणा राखे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *