विश्व

पाकिस्तानमा स्कुल बसमा आक्रमण, तीन बालबालिकासहित पाँचजनाको मृत्यु

खुजदार (बलुचिस्तान) । पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदार क्षेत्रमा बुधबार बिहान स्कुल बसमा भएको विस्फोटमा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ। घटनामा २ दर्जनभन्दा बढी घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार आक्रमण खुजदार सहरको जिरो पोइन्ट भन्ने स्थानमा भएको हो। बिहान सबेरै स्कुल जाँदै गरेको बसलाई लक्षित गरी विस्फोट गराइएको थियो। प्रारम्भिक अनुसन्धानमा बसमा करिब ४० जना बालबालिका सवार रहेको बताइएको छ।

खुजदार प्रहरी चौकीका एसएचओले बीबीसीसँग कुरा गर्दै भने, “बस खुजदार क्यान्टको एक निजी स्कुलका विद्यार्थी बोकेर गइरहेको थियो। विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ।” बस नजिकै पार्क गरिएको सानो कारमा समेत क्षति पुगेको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन, तर सुरक्षास्रोतहरूले बलुच अतिवादी समूहहरू संलग्न हुनसक्ने आशंका गरेका छन्।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले घटनाको कडा निन्दा गर्दै बालबालिकाको मृत्युप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *