
रूपन्देही।नेपालबाट भारतका बौद्ध गुम्बामा पढाउने भन्दै अनधिकृत रूपमा भारततर्फ लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई रूपन्देही जिल्लाको बेलहिया सिमा नाकाबाट उद्धार गरिएको छ।
बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ती बालकहरूलाई नेपाल–भारत बीचको दशगजा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। अभिभावक बिना, अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरिएपछि र आवश्यक कागजात नभएपछि बालकहरू जोखिममा पर्ने सम्भावना देखेर नेपाल–भारतका गैरसरकारी संघसंस्था, नेपाल–भारतका सुरक्षा निकायको सहयोगमा बालबालिकाको उद्धार गरिएको हो।
भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार विरुद्ध भारतमा क्रियाशील संस्था ‘किन इन्डिया’ र भारतीय सुरक्षा निकाय एसएसबीको पहलमा उद्धार गरिएको हो।
“नेपाली केही बालकलाई पढाउने भनेर गैरकानुनी रूपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरी विभिन्न संस्था र नेपाल प्रहरीको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो,” शुभ अवसर ग्राम नेपाल भैरहवा शाखा संयोजक सत्य नारायण यादवले बताए।
अभिभावक बिना कुनै पनि बालकलाई एकअर्को देशमा लैजानुपर्दा सरकारी स्तरबाटै कागजात हुनुपर्ने प्रावधान रहेको तर कुनै कागजात नभएका कारण शङ्कास्पद रहेको यादवले बताए। उद्धार गरिएका ती बालक सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाका छन्। सिमानाबाट उनीहरूलाई फर्काएर एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो। उनीहरू १० देखि १६ वर्षसम्मका छन्।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बालकहरूलाई सम्बन्धित अभिभावकको जिम्मामा घर पठाउने तयारी गरिएको र हाल बाल हेल्प लाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए। “उनीहरूलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमति गरेर भारत लगिएको रहेछ,” डीएसपी कार्कीले भने, “तर प्रक्रिया नपुर्याइ लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौँ।”
विभिन्न जिल्लाका बालकहरू लैजाँदै गर्दा कुनै सरकारी कागज नभएको र शङ्कास्पद लागेकाले बालकलाई फर्काइएको डीएसपी कार्कीले बताए।