काठमाडौं । प्रतिनिधिसभा बैठक एक साता स्थगित गरिएको छ। मंगलबार बसेको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा ४८ जना सांसदले भाग लिएका थिए। छलफलमा उठेका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएका थिए। त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिएपछि सर्वसम्मतिले स्वीकृत भएको हो।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय गरिएको थियो। तर, उक्त कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो।
यसै बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ सभामा प्रस्तुत गरेका थिए।




