देश

पश्चिम नेपाल फेरि हल्लियो : कास्की केन्द्रबिन्दु, ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुुस

काठमाडौं । मंगलबार दिउँसो १ :५९ बजे कास्कीको सिनुवा आसपासलाई केन्द्रबिन्दु बनाएर ४।७ म्याग्निच्युडको भूकम्प गएपछि गण्डकी प्रदेशका चार जिल्लामा हल्का त्रास फैलिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, धक्का कास्कीसहित तनहुँ, बागलुङ र पर्वत जिल्लामा समेत राम्रैसँग महसुस गरिएको हो। स्थानीय बासिन्दाले सामाजिक सञ्जालमार्फत भूकम्पका कारण घर हल्लिएको, केहीबेरका लागि बाहिर निस्कनु परेको अनुभव सार्वजनिक गरिरहेका छन्।

हालसम्म मानवीय वा भौतिक क्षतिको जानकारी आएको छैन। तर, विगत केही समयदेखि देशका विभिन्न भागमा लगातार साना भूकम्प आइरहेका सन्दर्भमा यसलाई सामान्य रूपमा लिन सकिन्न भन्ने विज्ञहरूको चेतावनी छ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। नियमितरूपमा आउने यस्ता हल्का भूकम्पलाई भूगर्भीय तनाव ‘रिलिज’ को प्रक्रिया मानिए पनि सजगता जरुरी रहेको विज्ञहरूले सुझाएका छन्।

भूकम्पको जोखिम उच्च रहेको नेपालमा नागरिकहरूलाई आपतकालीन तयारी, प्राथमिक सहायता तालिम, र सुरक्षित भवन निर्माणमा थप सचेतना आवश्यक छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *