मङ्गलबारे (इलाम)। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ। जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरू निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो। नेपालकै पुरानो उद्योगसमेत इलाममा नै रहेको छ। १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ।
कृषिजन्य वस्तुहरूको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको देखिन्छ। कृषिमा चियादेखि किवी, सुन्तला, अलैँची, अदुवा, दूधजन्य वस्तु यहाँ उत्पादन हुने गर्दछ। इलाममा चिया प्रशोधन र तयार गर्ने सयौँ उद्योग छन्। यहाँ उत्पादित चिया नेपालका विभिन्न क्षेत्रसहित भारत र तेस्रो मुलुक निर्यात हुँदै आएको छ। उत्पादन भएका वस्तु प्रशोधन गर्ने उद्योग स्थापना गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ।
उद्योग दर्ता र विद्यमान अवस्था
जिल्लामा हालसम्म ४,५६२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ। यहाँ कृषि तथा वन पैदावारमा आधारित २,४५० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी किरण कार्कीले जानकारी दिए। उनका अनुसार सेवामूलक १,३०९ र उत्पादनमूलक ४६७ उद्योग दर्ता भएका छन्। यस्तै पर्यटनतर्फ ३२५, सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रविधिमा आधारित ६ वटा, ऊर्जामूलक ४ र खनिजतर्फ एउटा उद्योग दर्ता भएका छन्।
इलाममा सञ्चालन भएर पनि धेरै उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छैनन्। यहाँ उत्पादन भइरहेका ऊर्जामूलक अर्थात् जलविद्युत् आयोजनाहरू कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएर सञ्चालन भइरहेका छन् भने चारवटा आयोजना मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको पाइएको छ। इलाममा चारवटा नदीमा २० भन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन्। सबै चियाका उद्योगसमेत यहाँ दर्ता भएका छैनन्। घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा ६५ वटा मात्र उद्योग दर्ता भएको तथ्याङ्क छ, जबकि कम्पनी रजिस्ट्रारको कार्यालयमा इलामका लागि भनेर १,०१४ उद्योग दर्ता भएका छन्।
जिल्लामा २०० बढी चियाका उद्योग सञ्चालनमा रहेको अनुमान छ। सबै पालिकामा चिया उत्पादन हुन्छ। इलाममा राम्रो अलैँची उत्पादन हुने भए पनि प्रशोधन गर्ने कुनै उद्योग छैन। नेपालमा उत्पादन हुने अलैँची भारत भएर विभिन्न मुलुकमा निर्यात हुने गर्दछ। अलैँची जिल्लामै यसको राम्रो प्रशोधन गर्ने उद्योग भएको भए निकै राम्रो मूल्य पाउन सकिने किसानहरू बताउँछन्। भारतीय व्यापारीको मूल्यमा आफूहरूले अलैँची बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ। औषधीय गुण भएको अलैँचीको उपयोग मसलाका रूपमा मात्र नभई अत्तरसमेत निर्माण हुने गर्दछ।
कृषि उत्पादनको निर्यात अवस्था
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि रु चार अर्ब १५ करोड बराबरको अलैँची भारत निर्यात भइरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो। आर्थिक वर्ष २०८०/८१ मा १,५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।
यहाँबाट प्रशोधन नभई अदुवासमेत निर्यात हुने गरेको छ भने यहाँको कुचो पनि कच्चा सामग्रीकै रूपमा निर्यात हुने गरेको छ। इलाममा उत्पादित वस्तु पूर्वी नाका भएर विदेश जाने गरेको छ। मेची भन्सार कार्यालयबाट अलैँची, चिया र अदुवा मात्रै रु ४९ अर्ब बराबरको निर्यात भएको जनाइएको छ। कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ देखि गत आर्थिक वर्ष २०८०/८१ सम्म रु ४९ अर्ब ५० लाख ३५ हजार बराबरको अलैँची, चिया र अदुवा निर्यात भएको बताइएको छ। सबैभन्दा बढी ३ करोड ३७ लाख ६३ हजार किलोग्राम अलैँची भारत निकासी हुँदा रु ३२ अर्ब २ करोड ८५ लाख ६५ हजार विदेशी मुद्रा नेपाल भित्रिएको कार्यालयले जनाएको छ।
पाँच आर्थिक वर्षमा सोही नाकाबाट ६ करोड २१ लाख ८३ हजार ४०४ किलोग्राम चिया निर्यात भएको उल्लेख छ। यसबाट रु १४ अर्ब ९१ करोड ८७ लाख ३४ हजार नेपाल भित्रिएको छ। यस्तै सो अवधिमा ४ करोड १७ लाख ९७ हजार ७७० किलो अदुवा निर्यात भई रु २ अर्ब ५ करोड ७७ लाख ३६ हजार विदेशी मुद्रा आर्जन भएको छ।
इलाममा मात्र कुल ७८० हेक्टरमा किवीखेती हुने गरेको कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले जानकारी दिए। उनका अनुसार जिल्लामा अघिल्लो वर्ष २,८५२ मेट्रिक टन किवी उत्पादन भएको थियो। किवीलाई यहाँ केही किसान आफैँले घरायसी मदिरा बनाउने गरेका छन्। किवीबाट जुस, जाम, अचारलगायत अन्य थुप्रै वस्तु निर्माण गर्न सकिने भए पनि यससम्बन्धी उद्योग स्थापना नहुँदा किसानले उचित मूल्य पाएका छैनन्। कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनमा पनि जिल्लाका कृषिजन्य वस्तुको प्रशोधनसम्बन्धी ठोस प्रस्ताव परेको छैन।




