काठमाडौँ। नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधिहरूको टोली यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीबाट काठमाडौँमा भेला गराएको छ।
तीनदिने भ्रमणमा रहेको ईयूको टोलीमा यहाँस्थित ईयूका आवासीय राजदूत एवं प्रतिनिधि पनि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ।
ईयूको कूटनीतिक टोलीलाई भ्रमणका माध्यमबाट नेपालको विकासका प्राथमिकता बुझ्ने र सहयोगका क्षेत्रहरू पहिल्याउन मद्दत पुग्ने प्रतिनिधिमण्डलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यहाँ रहँदा उक्त टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालको आन्तरिक तथा विदेशी नीतिका विषयमा छलफल गर्नेछ। साथै, नागरिक समाज, निजी र सञ्चार क्षेत्रका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
कूटनीतिक टोलीले नेपाल विद्युत् प्राधिकरणमा पुगेर यसका गतिविधिबारे जानकारी लिने तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने जनाइएको छ।




