भोजपुर। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड) को संरक्षण थालिएको छ। यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित संरक्षण तथा विकास थालिएको हो।
वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनासहित काम भइरहेको छ। कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनले बताए।
वडाध्यक्ष थापाले कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको जानकारी दिए। प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको उनले बताए।
यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यसहित कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए। पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको जानकारी उनले दिए।
स्थानीयवासी टेकबहादुर बस्नेतले यहाँको कैलाश पर्वत र हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित वडाले गरिरहेको कामले उत्साह थपेको बताए। यहाँ कैलाश पर्वतसँगै गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उनको भनाइ छ।
“यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ,” उनले भने, “कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो। यी क्षेत्रको विकासपश्चात् यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ।”
उनका अनुसार कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने गर्छ। मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उनले बताए।




