तानसेन (पाल्पा)। यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको यो कुवा पर्याप्त प्रचार नहुँदा गुमनाम जस्तै बनेको हो।
स्थानीयहरूका अनुसार यस कुवाको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने बलियो जनविश्वास छ। यस कुवाको पानीमा अनौठो शक्ति रहेको उनीहरू विश्वास गर्छन्।
स्थानीय भुनकुमारी गहतराजले यस जनविश्वासको कथा सुनाउँदै भनिन्, “परापूर्वकालमा एक जना जोगी तीर्थमा जाँदा रात परेपछि सामाकोटमा बास बसे। अत्यधिक प्यास लागेपछि पानीको मुहान कतै नदेखेपछि उनले आफ्नो हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकाले। तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् भनी आशीर्वाद दिएर आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ।”
गहतराजका अनुसार त्यही समयदेखि स्थानीयले पानी निस्केको ठाउँमा कुवा बनाए र यस ठाउँको नाम पनि जोगीपानी रहन गयो भन्ने कुरा ज्येष्ठ नागरिकहरू बताउँछन्। उनी भन्छिन्, “यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहँदै आएको छ र धेरै मानिस यही आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन्।”
आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्धति भए पनि ती खर्चिलो र सहज नहुने भएकाले कमजोर आर्थिक अवस्था भएकाहरूले अझै पनि यहाँको पानी उपयोग गर्ने गरेको पाइन्छ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाका अनुसार यसको वैज्ञानिक तथ्य अहिलेसम्म फेला परेको छैन। धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि यसको कुनै वैज्ञानिक आधार नरहेको उनले बताए।
प्राध्यापक थापाले भने, “शारीरिक विकास ढिलोचाँडो हुन्छ तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार अहिलेसम्म पाइएको छैन। यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिन्छ।”
स्थानीय गहतराजका अनुसार यस कुवाको प्रचारप्रसार नहुँदा धेरै मानिस यसको बारेमा अनभिज्ञ छन्। तर, थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत पानी लिन आउने गरेको उनले बताइन्। “केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन्,” उनले थपिन्।
कुवा बाटोको छेउमा अवस्थित छ। लामो समयदेखि सडक छेउमा रहेको यो कुवा सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताइन्।
“अहिले पानी सडकबाट तल लगेर अर्को ट्याङ्की निर्माण गरी प्रयोगमा ल्याइएको छ। धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि?” उनले प्रश्न गरिन्। कतिपय मानिस यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेको उनको भनाइ छ।
स्थानीय कमला गहतराजले आफ्नी छोरी आठ÷दश वर्षको उमेरसम्म पनि नबोलेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्न सक्ने भएको अनुभव सुनाइन्। पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउने गरेको जानकारी पनि उनले दिइन्।
स्थानीयहरूका अनुसार यहाँको पानी सञ्जीवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। कुवानजिकै सूचना बोर्ड राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन।
पत्रकार प्रकाश नेपालका अनुसार स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सके आम्दानीको स्रोत बन्न सक्छ। उनले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा जोड दिए।
तानसेन नगरपालिका–११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरे। आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडेर कुवाको वास्तविकता अनुसन्धानमार्फत पत्ता लगाउने योजना रहेको जानकारी उनले दिए।




