देश

भाषा संरक्षणमा सक्रिय हुँदै हायु समुदाय

धुलिखेल। आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संस्कार र संस्कृति लोप भइसकेको अवस्थामा संरक्षणका लागि प्रशिक्षण दिन थालिएको हो।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग तथा हायु समाज नेपालको आयोजनामा यहाँका समुदायका लागि आइतबारदेखि भाषा प्रशिक्षण सुरु गरिएको हो। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले कुनै पनि समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिविना पहिचान जोगाउन नसकिने भएकाले संरक्षणमा जोड दिइएको बताए।

“जुन समुदायको आफ्नै भाषा, संस्कार संस्कृति र भूगोल हुन्छ, उसैको पहिचान जीवित रहन्छ,” उनले भने, “लोपोन्मुख अवस्थामा रहेको समुदायले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण गर्न आफैँ जुट्नुपर्छ।” त्यसका लागि स्थानीय सरकारकोतर्फबाट विगतदेखि सो समुदायको उत्थान र विकासका लागि सहयोग गर्दै आइएको जनाउँदै उनले सोही अनुसार निरन्तरता दिइएको बताए।

हायु समाज नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुले आफ्नो समुदायको भाषा लोप हुँदै गएकाले संरक्षण गर्न प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए। भाषासँगै पहिचान पनि लोप हुने अवस्था रहेकाले संरक्षणको खाँचो देखेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा पहिलो पटक सिन्धुलीको सुनकोशी र गोलञ्जोर गाउँपालिका तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा भाषा कक्षा थालनी गरिएको अध्यक्ष हायुले जानकारी दिए। सो क्रममा भाषासँगै संस्कार, संस्कृति र सभ्यता पनि सिकाउने उनको भनाइ छ। उनका अनुसार आइतबारदेखि १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ओम हायुले प्रशिक्षण दिइरहेका छन्। समुदायका अधिकांशले आफ्नो मातृभाषा बोल्न जान्दैनन्।

रोशी गाउँपालिकास्थित बाल्टिङमा रहेको सो समुदायको संरक्षणका लागि राज्यले प्रतिव्यक्ति चार हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। गाउँपालिकाले पनि हायु समुदायको संस्कार र संस्कृति जोगाउन लगानी गर्दै आएको छ।

गत आर्थिक वर्षमा गाउँपालिकाले यो समुदायको सांस्कृतिक बाजासहितको सामग्री हस्तान्तरण गरेको थियो। यसपटक पनि आवश्यक सामग्री हस्तान्तरण गरिएको पालिका कार्यालयले जनाएको छ। बाल्टिङमा लोपोन्मुख हायु समुदायको १० परिवारमा ८५ जनाको बसोबास छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *