देश

प्रमुख कार्यकारी पौडेलले राजीनामा नदिएसम्म केयुकेएलका कर्मचारीको आन्दोलन नरोकिने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले राजीनामा नदिएसम्म कर्मचारीले आन्दोलन नरोक्ने बताएका छन् । पौडेललाई पदमुक्त गराउनुपर्ने मागसहित केयुकेएलका कर्मचारीले थालेको आन्दोलन सोमबार पाँचौं दिन पुगेको छ । कर्मचारीहरूले सात दिनभित्र राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।

केयुकेएलमा क्रियाशील पाँचैँ कर्मचारी संगठनले प्रमुख कार्यकारी अधिकृत पौडेल पदमुक्त हुनुपर्ने कारण कम्पनीको संस्थागत हकहित तथा कर्मचारीको वृत्तिविकाससम्बन्धी ४ जेठ ०८१ मा व्यवस्थापन पक्ष र आधिकारिक टेड युनियनबिच भएको ३२ बुँदे सहमति कार्यान्वयन गराउनु रहेको जनाएका छन् ।

यस्तै, कम्पनीको संस्थागत, नीतिगत तथा संरचनागत सुधार गराउन वा अधिकार सम्पन्न एकल संरचना निर्माण गराउन, उपभोक्ता वर्गमा छिटोछरितो, सर्वसुलभ तथा प्रभावकारी र गुणस्तरीय सेवा प्रभाव गराउन, कम्पनीको क्षमता विकास गरी व्यावसायिक कम्पनीका रूपमा सञ्चालन गराउन पौडेललाई पदमुक्त गराउनुपर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

केयुकेएल कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालले शान्तिपूर्ण आन्दोलनलाई उपेक्षा गरिए पानी वितरण बन्द जस्ता कडा खालको कार्यक्रम घोषणा गर्न आफूहरू बाध्य हुने बताए । ‘नियुक्ति भएर आएदेखि कुनै काम गर्न सक्नुभएन। १४ महिनादेखि संस्थामा डिस्टर्ब मात्र गर्नुभयो। त्यसैले एक हप्ताभित्र राजीनामा दिनुभएन भने पानी वितरण नै बन्द गर्ने चरणमा पुग्छौँ,’ उनले भने।

संस्थागत करारबाट तह १ देखि ३ को जनशक्ति लिने नीति खारेज गराई कम्पनीको दक्ष जनशक्ति व्यवस्थापन गराउन, मेलम्ची खानेपानी व्यवस्थापनका लागि गरेको लगानीको प्रतिफल सुनिश्चित गराउन, आयोजना कार्यान्वयन निर्देशनालयबाट उपभोक्ताको घरमा जडान हुने नयाँ धारा तथा मिटर जडानमा सहजीकरण गराउन, मिटर जडान तथा रिडिङ कार्यलाई प्रभावकारी बनाई महसुल संकलन वृद्धि गराउन भन्दै नौबुँदे कारणसहित आन्दोलन थालिएको ढकालले बताए। कर्मचारीहरूले अहिले प्रमुख कार्यकारीको कार्यकक्ष घेराउ गर्ने, आफ्ना माग पूरा गराउन दबाब दिने जस्ता कार्यक्रम मात्रै गर्दै आएका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *